“एनआरएनए राजनैतिक संस्था नै हो तर यो पार्टीगत संस्था होइन” – डा. कृष्ण उपाध्याय

बेलायतका सामाजिक संघ–संस्थाहरु राजनैतिक हुन् वा होइनन् भन्ने बिषयमा बेलाबेलामा वादविवाद भइरहँदा हालै मात्र एक नेपाली प्राज्ञले यस बारेमा आफ्नो गतिलो तर्क पेश गरेका छन् । गत मार्च ५ मा एनआरएनए यूकेद्धारा आयोजित आफ्नो १५औं बार्षिकोत्सवमा संघका एनआरएनए यूकेका पूर्व महासचिब डा. कृष्ण उपाध्यायले उक्त विचार प्रकट गरेका हुन् ।

बितेको १५ बर्षमा एनआरएनएले गरेका र गर्न छुटाएका बिषयहरुमा पूर्व महासचिबले आफ्नो २२ मिनेट लामो प्रस्तुति दिए । उक्त क्रममा उपाध्ययले भने, – “कुनै पनि अर्गनाइजेशन नन-पोलिटिकल (गैर-राजनैतिक) हुनै सक्दैन र एउटै पार्टीको मात्रै पनि हुन सक्दैन । तर एनआरएनए यूकेलाई हामीले शुरुदेखि नै ‘गैर-राजनैतिक गैर-राजनैतिक’ भनेर रटान लगायौं जुन गल्ति थियो ।”

“यदि तपाईं आफ्नो नागरिकताका लागि कुरा गर्दै हुनुहुन्छ भने त्यो कसरी नन-पोलिटिकल हुनसक्छ? नागरिकताको इस्यु पोलिटिकल हो कि होइन ? कुनै पनि अर्गनाइजेशन पोलिटिकल हुन्छ। हाम्रा बिषयहरु पनि पोलिटिकल छन्,;  हाम्रा प्रकृयाहरु पोलिटिकल छन् ; हामी प्रधानमन्त्रीसंग कुरा गछौं; हामी विधायकहरुसित कुरा गर्छौं; त्यसैले हामी राजनैतिक संस्था हो तर पार्टीगत संस्था होइन । ‘नन-पोलिटिक’ भन्नु र ‘ननपार्टीजान’ भन्नु यी दुई फरक कुराहरु हुन् ।” – उनले सविस्तार आफ्ना विचारहरु राखे ।

सन् २००६ देखि २००८ सम्म महन्त श्रेष्ठ नेतृत्वको कार्यकालमा डा. उपाध्याय महासचिब (उतिखेर राष्ट्रिय संयोजक भनिन्थ्यो) थिए । आफ्नो कार्यकाल समाप्तिपछि अध्ययन, लेखन र खोज कार्यहरुमा लागीपर्दा उनी झण्डै १२ बर्ष जति एनआरएएन अभियानको मुल प्रवाहबाट अलग्गिए । सोही सन्दर्भमा उनले भने, “तपाईंहरुमाभन्दा मसित एउटा बेग्लै अनुभव पनि छ, त्यो के हो भने झण्डै १० बर्ष जति एनआरएनएबाट बाहिर बस्दा यो संस्थालाई टाढैबाट नियाल्न पाएँ । त्यसैले पनि म यस बारेमा आफ्ना वस्तुगत धारणाहरु प्रस्तुत गर्न सक्दछु।”

आफ्नो प्रस्तुतिको क्रममा उनले एनआरएनए कुनै पनि राजनैतिक विचारधारा बोकेको संस्था नभएको भन्दै उनले एनआरएनए राजनैतिक संस्था नै भएको र यसमा दुई मत हुन नहुने तर यो पार्टीगत होइन र हुनु हुँदैन भन्नेमा पनि हामी सबै स्पष्ट हुन पर्ने विचार प्रस्तुत गरे ।

“हामी एनआरएनहरु को हौ ? हामी इतिहासमा भएका कुनै शोषण वा अन्यायको बिरुद्द आवाज उठाउने संस्था हौइनौं, तर मातृभूमि नेपाललाई नबिगारीकन डायस्पोरालाई सपार्नु हाम्रो प्रमुख उद्देश्य हो । हामी अतितमुखी नभएर भविष्यमूखी हौं, हामी भबिष्यद्रष्टा हौं । यस अर्थमा हामी हामी कुनै जातीय, लैङ्गिक वा धार्मिक समुह पनि होइनौं केही पनि होइनौं र हामी सबै पनि हौं । हामी सबै किन हौं भने हामी सबैलाई एउटै ठाउँमा ल्याएर राख्ने भनको हाम्रो नेपालसंगको प्रगाढ सम्वन्ध हो । त्यसले मात्रै हामीलाई एक ठाउँ ल्याउँछ । त्योभन्दा अरु हामीसंग छैन।” – एनआरएनए भनेको सबै किसिमका आस्था र विचारहरुको योगफल हो भन्नेमा नै उनको जोड थियो ।

एनआरएनए यूकेको आजसम्म भएका कमजोरीहरुको समिक्षा गर्दै उनले भने, “हामीले [संस्थापकहरुले] स्थापनाको शुरुमा एउटा गम्भिर त्रुटी गर्यौं । त्यो के भने संगठन कसरी सञ्चालन गर्नुपर्छ भन्ने सुझबुझ भएकाहरुलाई राखेर हामीले कार्यभार हस्तान्तरण गर्नुपर्दथ्यो तर त्यसो नगरेर हामीले गम्भिर भूल गर्यौं । त्यसका लागि हामी हामी माफी चाहान्छौं ।”

त्यस्तैगरी उनले चुनावताका सदस्यता खुल्ला गरेर होइन वन्द गरेर चाहीं सदस्यतालाई चुनावमूखी हुनबाट रोक्न सकिने आधारहरु प्रस्तुत गरे ।

उनले एनआरएनएको चुनावी प्रकृया महंगो भएको, संस्थागत संरचना उल्टो पिरामिड जस्तो भएको र आचारसंहिताको अभावमा एनआरएनएका नेतादेखि सदस्यहरुसम्म पनि कुन बिषयहरु सार्वजनिक गर्ने र कुन बिषयमा आन्तरिक रुपमा छलफल गरी निर्क्योल गर्नुपर्ने भन्ने अझ स्पष्ट नभएको धारणा व्यक्त गरे ।

“संगठनका विधिहरुलाई प्रयोग गरौं । कुन कुरा बाहिर ल्याउने? केही विवाद आएमा कसरी भित्रै समाधान गर्न सकिने सम्भावनाको खोजी गर्ने? त्यसका लागि सबै सदस्यहरुका लागि आचार संहिता लागू गर्न जरुरी छ”, उनले भने ।

एनआरएनएबाट अलग रहे पनि अभियान बारे बेलाबेलामा लेखन र प्रकाशनहरु मार्फत डा. कृष्ण उपाध्यायले आफ्ना विचारहरु सम्प्रेशण भने गरिरहेकै छन् ।

खुशी लिम्बू

Video: khusilimbu.com/news; Photo: Ezra Shrestha

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार