“उद्वारको नाममा कमिशनको खेलमा सरकार लाग्यो” – विनय अधिकारी

काठमाडौंः गैर आवासीय नेपाली संघका अभियन्ता विनय अधिकारीले बेलायतमा अलपत्र नेपालीको उद्धारको नाममा सरकार कमिसनको खेलमा लागेको भन्दै आक्रोश पोखेका छन् ।

सरकारले विदेशमा रहेका नेपालीलाई निःशुल्क उद्धार गर्नुपर्नेमा उल्टै महँगो भाडादर कायम गरेर लुटतन्त्र मच्चाएको भन्दै अधिकारीले सरकारको कडा शब्दमा निन्दा गरेका हुन् ।

अधिकारीले प्रति व्यक्ति झन्डै २ सय पाउण्ड भन्दा बढी महँगो बनाएर कमिसनको खेलमा सरकारका अधिकारीहरु लागि परेको भन्दै सरकारले यस विषयमा गम्भीर भएर छानबीन गर्नुपर्ने बताए । सरकारले पटक पटक भाडादर कायम गरेर विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु अझ पीडित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानर्कषण गराएका छन् ।

बेलायतबाट उद्धार गर्नुपर्ने ४ सय २० मध्ये पहिलो चरणमा यही जुन २४ र २६ का दिन दुईवटा चार्टर फ्लाईटमार्फत फर्काइने तयारी भएको बुझिएको छ । तर जजिरा एयरलायन्समार्फत उडान गर्नु र महँगो भाडादर कायम गर्नुको पछि ठूलै कमिसनको खेल रहेको छ । ७ सय पाउण्ड पर्ने टिकट ९२० पाउण्ड कसरी पर्यो भन्दै अधिकारीले यसको बारेमा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्ने नत्र उद्धारको नाममा भइरहेको लुटतन्त्र टुलुटुलु हेरेर बस्न नसकिने सरकारलाई चेतावनी समेत दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार