जनजाति महासंघ युकेले विश्व आदिवासी दिवस भर्चुअल रुपमै मनाउने

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको संघीय परिषदको बैठक सम्पन्न भएको छ । गत आइतबार १२ जुलाईको दिन इन्टरनेटको जूममार्फत महासंघको बैठक बसेको हो ।
अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकमा महासंघमा आवद्ध सबै जातीय संस्थाका अध्यक्ष र प्रतिनिधिहरु, संस्थापकहरु, सल्लाहकारहरु, संघीय परिषद र कार्यसमितिका सदस्यहरुको सहभागिता रह्यो ।
संघीय परिषदको बैठकले गरेका निर्णयअनुसार यस वर्षको २६औं विश्व आदिवासी दिवस आगामी अगस्ट ९ का दिन इन्टरनेटको जूममार्फत भर्चुअल रुपमै मनाउने भएको छ । २६औं विश्व आदिवासी दिवसको प्रमुख अतिथि सदा झैं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहनेछन् । त्यस्तै, नेपालबाट नेपाल आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष जगतबहादुर बराम समारोहमा विशेष अतिथिको रुपमा सहभागी हुनेछन् ।
यस वर्षको विश्व आदिवासी दिवसको प्रमुख वक्ताको रुपमा नेपालका आदिवासीहरुको मानवअधिकारवादी अधिवक्ता शंकर लिम्बू रहेका छन् । अधिवक्ता लिम्बूले “गणतन्त्र नेपालको संविधान २०७२ मा प्रवासका नेपाली आदिवासीहरुको नागरिकताको अधिकार” विषयमा प्रस्तुति दिने कार्यक्रम छ ।
त्यस्तै, संघीय परिषदले हालै गठित नेफिनको अन्तर्राष्ट्रिय तदर्थ समितिलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्यो । मानबहादुर रानामगरको संयोजकत्वमा गठित अन्तर्राष्ट्रिय समन्वय परिषदमा अमेरिका, क्यानडा, बेलायत, पोर्चुगल, अस्ट्रिया, अस्ट्रेलिया, कतार, युएई, बहराइन, हङकङ, कोरियाबाट प्रतिनिधि रहेका छन् । अन्य देशका नेफिनहरु समितिमा समावेश हुने प्रकृया जारी छ । उक्त समितिमा नेफिन यूके महासचिव खुशी लिम्बु सहसंयोजक रहेका छन् ।
बैठकमा तमुधीं यूकेका अध्यक्ष नन्द जंग गुरुङ, पूर्व अध्यक्षका ज्ञाम गुरुङ, मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष सीता पुन र उपाध्यक्ष राम गलामी, किराँत याक्खा छुम्माका अध्यक्ष गुणराज खायाखिम, किराँत राई यायोक्खाका यूके अध्यक्ष कल्पना राई, किराँत याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष तिलबिक्रम सम्बाहाम्फे, दुरा सेवा समाज यूकेका अध्यक्ष इन्द्रबहादुर दुरा, सुनुवार सेवा समाजका अध्यक्ष जितेन्द्र सुनुवारको सहभागिता थियो । त्यस्तै, तामाङ सोसायटी अफ यूकेका धर्म तामाङ र बेलायत छन्त्याल संघा प्रतिनिधिको रुपमा महासंघका पूर्व अध्यक्ष तुल छन्त्यालको पनि सहभागिता रह्यो। । शेर्पा संघ बेलायत अध्यक्ष साना शेर्पा भने असामयिक अस्वस्थताका कारण बैठकमा सहभागी हुन असमर्थ रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार