“धनको रक्षा त चोर र राजपुरुषहरुबाट गर्न पर्छ “ - Khusilimbu.com

“धनको रक्षा त चोर र राजपुरुषहरुबाट गर्न पर्छ “

आजकल बेलायतमा च्यारिटीहरु धेरै भयो भनेर सामाजिक सञ्जालमा रुने कराउनेहरुको संख्या निकै देखिएको जस्तो लाग्छ । यस्ता कुरा गर्नेहरु भनेका दुईचार पाउण्ड खर्च गर्ने सामथ्र्य भएका तर कहीं कतै र कहिल्यै पनि खल्तिबाट एक सुको निकाल्न सक्ने हृदय नभएकाहरुमध्येका हुन् । मैले दाताहरुको लिस्टमा यिनीहरुको नाम कहीकतै देखेको छैन । यस्तो लाग्छ, यिनीहरुको धर्म भनेको आफु नि नगर्ने र अरुलाई नि गर्न नदिने । उनीहरुको शब्दहरुमा म यस्तो सन्देश पाउँछु ।

जो परोपकारमा जुटेको छ उ लुटेरा हो
जो अरुको दिमाग भुटिरहेको छ उ ज्ञानी हो

मैले नीति पढ्न वृन्दावन धाइन र शास्त्र पढ्न बनारस जान पाइन । तर आजकल नीति र शास्त्रहरुसित सम्बन्धित टेली श्रृङखलाहरु निकै हेर्न पाइन्छ । एउटामा भनिएको छ,

“…मानिसको सबैभन्दा ठूलो शत्रू अहंकार हो …
… निर्धनको धन बिद्या …
… स्त्रीको गहना लाज …
… जो परोपकारको लागि अघि बढ्छ उही सत्पुरुष हो …
…सबैभन्दा ठूलो वीर दानवीर…”

त्यसैले, जसले जे भन्दै गरुन् दान गर्न नछोडौं । शास्त्र भन्छ, “सुखको मुल धर्म र धर्मको मुल अर्थ “।

दान गरेर कोही गरिब भएका छैनन् ।

वास्तवमा यदि तपाईंसंग धन छ भने, सोही शास्त्रले भन्छ,

“धनको रक्षा त चोर र राजपुरुषहरुबाट गर्न पर्छ ”

अन्तमा, प्रसंगलाई म आज साँझ हुने च्यारिटी डिनरसित पनि जोड्न चाहन्छु । नेपाल पत्रकार महाहंघ (Federation of Nepalese Journalists) यूकेले बेलायतका कलमजीवी नेपाली पत्रकारहरुलाई भैपरिआउँदाको निम्ति भनी कोष स्थापना गर्न एक बिशेष च्यारिटी डिनरको आयोजना गरेको छ । म उहाँहरुको मित्र र FNJ को शुभचिन्तक भएको नाताले कलमको शक्ति बुझेका र अक्षरहरुको बीऊ चिनेका तपाईंहरु जस्ता सबै आदरणीय जनहरुलाई आज त्यहाँ उपस्थित होऔं र उपस्थित हुन नसके आआफ्नो गच्छे अनुसारको आर्थिक सहयोग गरौं भन्न चाहान्छु ।

आजको दिन सबैका निम्ति शुभ रहोस् ।

“धनको रक्षा त चोर र राजपुरुषहरुबाट गर्न पर्छ “ - Khusilimbu.com