जिर्ण कारागारमा कोचाकोच - Khusilimbu.com

जिर्ण कारागारमा कोचाकोच

फिदिम । पुरानो भवन र पटक पटकको भूकम्पको धक्काले जिर्ण बनेको जिल्ला कारागार पाँचथरमा कैदी बन्दिहरु कोचाकोच राखिएको छ । ४५ बर्षअघि २५ जना कैदिबन्दि राख्न मिल्ने गरी निर्माण गरिएकोे ङ श्रेणिको कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दि कोचेर राखिएको छ ।
२०७२ सालको भूकम्पले चर्किएर जिर्ण बनेको कारागारभित्र दुई नाबालक सहित एक सय ५३ जना कैदीबन्दि कोचेर राखिएको हो । २० जना पुरुष र ५ जना महिला कैदिका लागि निर्माण गरिएको कारागारमा एक सय ३६ जना पुरुष र १५ जना महिला कैदिबन्दि छन् । एक जना बालक र एक जना बालिका पनि जिर्ण कारागारमै आमासँगै कोचिएका छन् ।
महिला कैदीलाई भन्दा पुरुष कैदिलाई खान, बस्न र सुत्नका लागि समस्या हुने गरेको छ । कारागारमा पुरुष कैदीका लागि तीन ओटा सुत्ने कोठा छन् भने महिला कैदीका लागि दुई ओटा सुत्ने कोठा छुट्याइएको छ । ‘कैदिको चाप धेरै भएपछि सुत्नलाई बैकल्पिक व्यवस्था मिलाईको छ,’ कारागार प्रमुख सुरेन्द्रबहादुर मुखियाले भने ‘खाटमाथि खाट मिलाएर सुत्ने व्यवस्था मिलाईएको छ ।’ महिला कैदिलाई समस्या नहोस भनेर पुरुषको भन्दा राम्रो व्यवस्था मिलाइएको उनले बताए ।
भूकम्पपछि कारागारको कम्पाउण्ड चर्किएको छ । चिरा चिरा परेको कारागारभित्र क्षमताभन्दा छ गुणा बढि कैदी राखिएको हो । भवन अभावका कारण भत्किन लागेको कारागारमा कैदिलाई राख्नुपरेको बताइएको छ । ‘कैदिका लागि राज्यले प्रदान गरिने अन्य सबै सुविधा पुगेको छ,’ मुखिया भन्छन् ‘आवश्यकता अनुसारको भौतिक संरचना नहुदा समस्या भएको हो ।’ कैदि राख्ने थप भवन नहुदा जिर्ण कारागारमा उकुसमुकुस हुने गरी कैदि राखिएको हो ।
‘जसोतसो गरेर सुत्ने व्यवस्था मिलाईको छ,’ कारागारका नाईके टेकनाथ रिजालले भने ‘कैदी बन्दिहरुलाई स्वास्थ्योपचारका लागि समस्या हुने गरेको छ ।’ कैदीहरुको स्वास्थ्योपचारका लागि बार्षिक रुपमा एक लाख रुपैँया सम्म बजेट आउने तर कैदीको चापका कारण उपचारमा उक्त बजेटले नपुग्ने मुखियाले जानकारी दिए ।
कारागार जिर्ण बनेपछि निर्माणका लागि प्राविधिक स्टिमेट तयार गरेर विभाग पठाइएको मुखियाले बताइएको छ । ‘विभागबाट कारागार निर्माणका लागि अहिलेसम्म सम्बोधन भएको छैन,’ उनले भने । कारागारमा कैदीबन्दिको कोचाकोच हुदा नुहाउन, चर्पी बस्न, राती सुत्न र लेखपठ गर्न साह्रै समस्या हुने गरेको कैदिहरु बताउँछन् । साघुरो कारागारमा कोचिएकाले कैदिको प्रत्येक क्षण कष्टपूर्ण भएको हो । ‘जिर्ण कारागारमा कोचिएर बस्नुपर्दा स्वस्थ मान्छे पनि बिरामी हुँदो रहेछ,’ रिजालले भने ‘हैँजाका बेला कैदीलाई जोगिन गारो हुन्छ ।’

जिर्ण कारागारमा कोचाकोच - Khusilimbu.com